ओलीलाई कारवाही गर्छौं, संसदलाई पुनर्जीवित पार्छौं : झलनाथ खनाल

काठमाडौं, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद समेत सहभागी भेलापछि नेता खनालले यस्तो बताएका हुन् ।

‘यो संविधानकाविरुद्ध गरिएको ‘कू’ हो । यो अख्तियारको दुरुपयोग मात्रै होइन, असंवेधानिक ‘कू’ भएकाले यसकाविरुद्ध हामी राजनीतिक अभियान पनि चलाउछौँ,’, नेता खनालले थप, ‘संवैधानिक र कानुनी अधिकारका लागि सर्वोच्च अदालत पनि जान्छौं ।’

उनले संवैधानिक र कानुनी अधिकार तथा सवै उपाय लगाएर ओलीले विघटन गरेको संसदलाई पुनर्जीवित गरेरै छाड्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले केन्द्रीय समितिको बैैठकमार्फत ‘कू’ गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने समेत जनाए ।

‘जसले पार्टी नीति भावना र संविधानविरुद्ध कदम चालेको छ उसलाई आवश्यक कारवाही गर्छौँ’, खनाललको भनाइ छ । नेकपाको प्रचण्ड नेपाल समूहको भेलामा प्रतिनिधि सभाका ९० र राष्ट्यि सभाका २४ जना सांसद सहभागी थिए ।