भारतको कम स्कोरमा कीर्तिमानी

एजेन्सी, अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा किर्तिमानि बनाएको छ । कप्तान विराट कोहलीसहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । अन्तिममा मोहम्मद शमी घाइते बनेर रिटायर हर्ट बने ।

टेस्ट इतिहासमा भारतीय टीमले बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि भारतीय टोलीले ४६ वर्षअघि सबैभन्दा कम ४२ रन बनाएको थियो । सन् १९७४ मा भारतले इंग्ल्याण्डविरुद्ध सो स्कोर बनाएको थियो । आजको खेलमा कुनै पनि भारतीय ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रो दिन एक विकेटको क्षतिमा ९ रनको स्थितिबाट आफ्नो पारी सुरु गरेको भारतले १० रन जोडेर थप ५ विकेट गुमाएका थियो । भारतीय पारी ध्वस्त बनाउन जोश हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए । भारतीय टोलीले अस्ट्रेलियासामु जीतका लागि मात्र ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा २४४ रन बनाएको थियो भने अस्ट्रेलिया १९१ रनमा समेटिएको थियो ।