“अनि पो हिमाल हाँस्न सक्छ”

कौवा गिद्धहरू खुब उडे क्षितिजमा
कोईली र जुरेलीको मधुर स्वर मर्यो शोभायमान हरियालीमा
कसरी मर्यो ?
किन मर्यो ?
किन उडे कौवा गिद्धहरू ?
कोईली र जुरेलीको
मरेको मधुर स्वरमा ।

गोपालहरूको मुरली गीत मर्यो,
बम, गोला र बारूदको गन्धमा ।

हरियालीका असंख्य गहना मरे,
झुक्किईएको राईफल र बन्दुको गोलिमा ।

अगम नाता गाँसिएको छ,
बन्दुक र गोलाधारीहरूको बीचमा ।

रगतको खोला खुब बगायौ,
नेपाली आमाको कोमल हृदयमा ।

रूवायौ असंख्य चेलीहरू
पुछायौ सिउँदो अनि फुटायौ
कोमल हातका श्रृगारहरू
धेरै भयो अब त अति भयो
कति रूवाउँछौ चेलीहरू
ल्याउ नेपाली वनपाखामा
झुमिरहेका लालीगुराँस फूलहरू ।

बन्द गर नेपाली आमालाई रूवाउन
राईफल र बन्दुकका प्वालहरू
गौतमबुद्ध, सीता र जनकको हाँसो खोज
नेपाली आमाको कोमल हृदयमा
उडाउ असंख्य जोडी सेता परेवा,
उच्च शिर सगरमाथा रहेको
नेपाली भूमिमा
अनि पो हिमाल हाँस्न सक्छ फूलमा
पहाड रमाउन सक्छ छहरामा
सदाबहार बोक्न सक्छ तराईका रमाईला फाँटहरूमा
एकताको आनन्द बोकी
सीता, जनक र गौतमबुद्धको आगमनमा ।