श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौँ, नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठ निधनको तिन दिन पार्टीको कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ ।

शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनमा तीन दिन मंसिर २६,२७ र २८ गते पार्टीको केन्द्रीय कार्यालयमा र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।साथै बैठकले आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक सामाजिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने पार्टी कार्यालयले बताएको छ ।नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलनरसंघर्षका क्रममा श्रेष्ठले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन विताएका थिए ।

३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्यसमेत थिए ।