समयमै निःशुल्क खोप उपलब्ध गराउन पहल

काठमाडौँ , उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको खोप ल्याउन र भण्डारणमा रहेका समस्याबारे चासो राखेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा एमसीसी आबद्ध मन्त्रालयसँग छलफल भएको जानकारी दिए । उनले भने, “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौँ ।”

बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भइरहेका सम्बन्धित काम र कोभिड कोषको खर्च विवरण नागरिकलाई जानकारी गराउने निर्णयसमेत गरेको छ । उपप्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय सीमा बिन्दुमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने र त्यसका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गर्नेबारेमा पनि बैठकमा छलफल भएको थियो  कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइलाई सम्बोधन गर्ने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।