संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने

काठमाडौं,  प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भोलि (आइतबार) बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुने भएका छन् ।भोलिको वैठकमा सहभागी हुन नसक्ने कुरा देउवाले जानकारी गराइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि (आइतबार) विहान ९ बजे बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अङ्गहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अहिले संवैधानिक निकायमा ४५ पद रिक्त छन् ।

देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।विपक्षमा रहेर पनि कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद मागेको छ । यसैगरी सबै आयोगमा दुई–दुई जना व्यक्ति आफूले सिफारिस गरिएकाबाट नियुक्त हुनुपर्ने माग कांग्रेसले राखेको छ ।

यता सत्तारुढ पार्टीभित्र भने ओलीले संवैधानिक निकायमा पदपूर्तिबारे अरु नेतासँग सल्लाह नगरेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका एक नेताले बताएका छन् ।