भेरी अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

बाँके, भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमित ३८ वर्षिया महिलाको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका-९ निवासी ती महिला कातिक ७ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् ।

उनलाई त्यसको दुई दिन अघि दैलेखमा संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पताल दैलेखमा दुई दिन भर्ना भएकी उनलाई स्वास्थ्य समस्या झन बल्झिदै गएपछि कात्तिक ७ गते भेरी अस्पतालमा ल्याइएको थियो ।

भाइरस संक्रमण पुष्टि भएको ५२ दिनपछि शनिवार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । रोगको प्रकृतिअनुसार, उनलाई सबै प्रकारको उपचार गर्दा गर्दै मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए। योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६७ जनाको मृत्यु भएको छ ।