अमेरिकामा फाइजरको खोप प्रयोग गर्न एफडीएका सल्लाहकारको सुझाव

काठमाडौं, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोप र जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोग गर्ने पक्षमा मतदान गरेको छ ।समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए । मतदानको अर्थ खोपको प्रयोगका लागि तत्कालै अनुमति दिइनेछ भन्ने चाहिँ होइन ।

एफडीएले सुझावलाई ग्रहण गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ । तर संस्थाले खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिने संकेत गरिसकेको छ ।एफडीएको खोप कार्यक्रमबारेको सल्लाहकार समितिको बैठक बसेर खोपको आपतकालीन अनुमति दिने वा नदिने निर्णय गर्नुपर्छ । यसको बैठक शुक्रबारलाई तय गरिएको छ र सम्भवतः आइतबार यसबारे मतदान गरिने अनुमान गरिएको छ ।

एफडीएले अनुमति दिएको २४ घण्टाभित्र खोपलाई आवश्यक ठाउँमा पठाउन तयार रहेको अधिकारीहरुले बताएका छन् । अर्को हप्ता मोडेर्नाको खोपको बारेमा निर्णय गर्न बैठक बस्नेछ ।