मेस्सीसँग राम्रो सम्बन्ध छः रोनाल्डो

काठमाडौँ, इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस टिम बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग राम्रो सम्बन्ध रहेको जनाएका छन् ।

मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्ध जित दर्ता गर्दै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको जनाएका हुन् । मेस्सीसँग मेरो सम्बन्ध राम्रो छ’ उनले भने हामी दुवैले आफ्नो टोलीको लागि राम्रो गर्छौ । मैले उनलाई प्रतिद्धन्दीका रुपमा हेरेको छैन । रोनाल्डोले क्याम्प नोउमा आफ्नो टोलीले राम्रो खेलेको प्रतिक्रिया जनाउँदै भने यो एक जटिल मिसन थियो ।

तर हामीले राम्रो खेल्यौँ । हाम्रो मनोबल निकै बढेको छ । उक्त खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३- ० ले हराएको थियो । युभेन्ट्सका लागि रोनाल्डोले २ गोल गरेका थिए । खेलमा मेस्सीले राम्रै प्रदर्शन गरेपनि बार्सिलोनाका लागि गोल गर्न सफल भएनन् । पहिलो खेलमा भने बार्सिलोनाले युभेन्ट्सलाई २-० ले पराजित गरेको थियो ।