अनेरास्ववियूका नेतामाथी आक्रमण गर्ने एकजना पक्राउ

नेपालगन्ज, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका बाँके जिल्ला कमिटी सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य मानवमाथी आक्रमण गर्ने एक युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार राती एक युवालाई पक्राउ गरेको हो ।

कोहलपुर प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी कुलदिप चन्दले चौराहा नजिक विद्यार्थी नेतालाई आक्रमण गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको हो । आक्रमण गरेको आरोपमा पक्राउ पर्नेमा कोहलपुर नगरपालिका २ का विवेक सापकोटा रहेको उनले बताएका छन् । पक्राउ परेका सापकोटाले विद्यार्थी नेतामाथि आक्रमण गरेको बयान दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विद्यार्थी नेता मानवमाथि बुधबार राती करिब १० बजेतिर चौराहा नजिकै रहेको कोहलपुर नगरपालिकाको कार्यालय नजिक आक्रमण भएको थियो । घटना लगत्तै कोहलपुर प्रहरी अनुसन्धानमा खटिएको थियो ।

 शुक्रबार राती मात्र प्रहरी जवान जितेन्द्रजंग केसीले आक्रमणकारी सापकोटालाई पक्राउ गरेका हुन् । पक्राउ परेका सापकोटा अन्य घटनाहरुमा समेत संग्लन भए नभएको बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पिडित मानवले पनि आक्रमणकारी पक्राउ परेको भन्दै बाँकी कानुनी पक्रिया भोली शनिबार मात्रै थाल्ने मिसन टुडेलाई जानकारी दिए ।