बर्दियामा टिपर र कार एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, ३ घाइते

बर्दिया, बर्दियाको मधुवन नगरपालिका–४ मा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार आज एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका–४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

दुर्घटनामा गुलरिया–४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । टिपर चालक कोहलपुर—६ रझेनाका रमेश थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।