बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजु पक्राउ

देउखुरी, लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला देउखुरीको गढवा गाउँपालिकामा बोक्सीको आरोप लगाएको कसुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पिडित महिलाले मंगलबार इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएपछि ती पुरुष पक्राउ परेका हुन् ।

गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पिडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पिडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पिडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नबन्ने केश भनेपछि पिडित प्रहरी कार्यालयमा उजुरी दिएको दिएकी थिइन् ।

यही मंसिर १५ गते दिउँसो करिब २ बजे पिडितका श्रीमान काममा गएको बेला एक्लो पारेर पिडक चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्न थालेको बेला एक स्थानीयले छुट्टाएपछि पिडित भागेर गाउँपालिका आएको बताइएको छ । पिडकले बिगत ४ बर्ष अगाडी देखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकोले आज सम्म सहेर बसेको पिडित महिलाले बताइन् ।

मेरै जेठाजुले मलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्न थाल्नुभो, आजै कट्छु मार्छु भनेर धम्की दिनुभो अनि म ज्यान जोगाउन गाउँपालिका आएँ–पिडित महिलालेलाई भनिन् । जेठाजुको छोरा मापसे गरेर कल्भर्टबाट लढेर घाइते भएको र उसलाई अस्पतालमा औषधी गर्नुको बदला गुरुवा कहाँ झारफूक गराइरहेको र मलाई बोक्सी लागिस् भनेर आरोप लगाएको पिडित महिलाले बताइन् ।

पिडित महिलाले जाहेरी दर्ता गरिसकेको र पक्राउ परेका पिडकलाई दाङ—देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् । बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।