कक्षा १२ को नतिजा महिना दिनभित्रै, यसरी ल्याइँदैछ नतिजा

काठमाडौं, कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने भएको छ ।

परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण शुरु भएको र महिना दिनभित्रै नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डकाअनुसार विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र नतिजा प्रकाशित हुनेछ ।

बोर्डले एक हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका छन् ।

यस्तै परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना केही दिनभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ ।