पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित

संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ थियो ।
पछिल्लो २४ घण्टामा थप २०७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १६ हजार ५९४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।