ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘रिपोर्ट’ अस्वीकार्य : सरकार

काठमाडौं,  ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ ।सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले नस्वीकार्ने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे ।

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ ।
रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रश्रय दिएको उल्लेख गरिएको थियो ।