देशभरको मौसम बदली भई हवाई उडानसमेत प्रभावित हुनसक्ने

काठमाडौं, पश्चिमी वायुको प्रभावका साथै दक्षिणपश्चिम बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावले देशभरको मौसममा पूर्ण बदली हुनुका साथै आज देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जानकारी गराएको छ।

हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहेको को मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार मौसममा आएको बदलीले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत बताएको छ।

हाल काठमाडौं उपत्यकाको मौसमसमेत पूर्ण बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तिमा आइतबारसम्मै देशभरको मौसममा बदली हुने हुँदा हवाई उडानसमेत प्रभावित हुने जनाएको छ।महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।