गुल्मीमा जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

गुल्मी, गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा केहिबेरअघि मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो ।

यसअघि ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अक्षामी र ८० वर्षीय सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

आज बिहान इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको सहचालकको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।