त्रिशूली दुर्घटनामा बेपत्तामध्ये दुईको शव भेटियो

चितवन,त्रिशूलीमा पिकअप भ्यान खस्दा नदीमा बेपत्ता भएका तीन जनामध्ये दुईजनाको शव फेला परेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रक्ता डिएसपी सूर्य थापाका अनुसार चालक सूर्य केसी र जमुना रोक्काको शव फेला परेको हो ।सशस्त्र प्रहरीको गोताखोर टोलीले उनीहरुको शव भेटाएको हो । घटनास्थलमै नदीभित्र पिकअप भ्यान भेटिएको र भ्यानमा उनीहरुको शव फेला परेको हो ।

दुर्घटना भएपछि उद्धारका लागि नेपाल प्रहरीका साथ कुरिनटारमा रहेको सशस्त्र प्रहरीको शिक्षालयका गोताखोरहरु खोजी र उद्धारमा जुटेका थिए । शिक्षालयका सशस्त्र प्रहरी नायब निरीक्षक प्रह्लाद सिलवालको नेतृत्वमा पाँचजना गोताखोरसहित सशस्त्रका नौजना खोजीमा जुटेका थिए । बिहान साढे नौ बजेतिर दुर्घटनाग्रस्त भ्यान नदीभित्र पानीमा फेला परेको थियो ।

प्युठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवन इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चारजनामध्ये तीनजना नदीमा बेपत्ता भएका थिए । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार भ्यानमा रहेकामध्ये प्यूठानका मुकुन्दबहादुर रोक्का नदीबाट पौडेर बाहिर आएका थिए । छोरी जिनिसाको उपचारका लागि उनी श्रीमती जमुनासहित काठमाडौं आउँदै थिए ।