नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौं,  करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्र सचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ ।बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन् ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला आजै काठमाडौं आएका हुन् ।उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।

आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव श्रृङ्गलाले नेपाली भाषामा भने, ‘विदेश सचिवका रुपमा काठमाडौं आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि म काठमाडौं आएको छु तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ ।’

उनले आज (बिहीबार) र भोलि (शुक्रबार) आफू उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने जानकारी दिँदै शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनर्निर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताए ।गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए । यद्यपि उनले उक्त गुम्बा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उद्घाटन हुनेबारेमा भने केही खुलाएनन् ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशको आजै भेट
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता शुरु भएको छ ।बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने छन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

विदेश सचिव श्रृंगलाले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । बालुवाटारको भेटपछि उनी शितल निवास जानेछन् र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै भारत फर्किने छन् ।