विप्लव समूहका ३ नेता पक्राउ

नुवाकोट, प्रहरीले नुवाकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन जना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्य गढीगाउँपालिका २ का ४१ वर्षीय रामकुमार अधिकारी, ककनी गाउँपालिका ३ का ४३ वर्षीय शम्भुप्रसाद ढुंगाना र ४५ वर्षीय विनोद ढुंगाना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विदुर नगरपालिका ४ बट्टार बजारमा शंकास्पद गतिविधि गरेर हिँड्डुल गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीसँग सोधपुछ र खानतलासी गर्दा चन्दा रसिद, पार्टीको पर्चा र अन्य कागजात बरामद भएको छ ।

पर्चा पम्प्लेट वितरण गरी गाउँमै लुकिछिपी बसेको अवस्थामा ढुंगानाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर वलीले बताए ।