छठघाटबाट पेस्तोलसहित एकजना पक्राउ

जनकपुरधाम, सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।

दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् । रविनमाथि थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।प्रहरीका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल बरामद भएको हो । सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले बिनोदको कन्चटमा पेस्तोल ताकेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।बिनोदसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न रविनले पेस्तोल लिएर गएको स्थानीयको भनाइ छ ।