हुम्लाको एउटै स्कुलमा ५६ जनामा कोरोना संक्रमण

जिल्लाभरिका सबै शैक्षिक संस्था बन्द

हुम्ला, तिब्बतसँग जोडिएको हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयको छात्रावासमा वस्ने विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि जिल्लाभरिका सबै शैक्षिक संस्था बन्द गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार महाबौद्ध माध्यमिक विद्यालयमा बाजुरा, हुम्ला, डोल्पा, मुग, काठमाण्डौ लगायतका विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार विद्यालयका सबै ५२५ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएपछि सबैलाई छात्रावासको आइसोलेशनमा राखिएको छ । दशैं विदापछि कतिपय विद्यार्थीहरू हवाईमार्गबाट आएको र कतिपय बाजुरा हुँदै पैदल आएको हुँदा जहाजबाट आएकाको परीक्षण भएको तर हिँडेर आएकाको परीक्षण नगरेको बताइएको छ ।

स्मरण रहोस् हुम्ला जिल्लामा गत कार्तिक १४ गतेबाट विद्यालयहरू खुलेका थिए । मङ्सिर महिनादेखि हिउँ पर्ने भएकाले पठनपाठन गर्न नसकिने भएकाले वार्षिक परीक्षा सकेर फागुनसम्म लागि विद्यालय बन्द गर्ने प्रचलन रहेको छ । यस वर्ष पनि त्यही क्यालेण्डर अनुसार काम गर्नको लागि विद्यालय संचालन गरिएको थियो ।