नेपाल प्रहरीमा थपिए एक एआईजी र पाँच डीआईजी

काठमाडौं, नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक एआईजी र पाँच प्रहरी नायव महानिरीक्षक डीआईजीको दरबन्दी थपिएको छ । योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन् ।

गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको नेपाल प्रहरीको मुख्यालयले जनाएको छ । यसअघि नै मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेको भए पनि सोमबार मात्र स्वीकृत भएको थियो ।डीआईजीको संख्या जनपदतर्फ नै १९ पुगेको छ । गत चैतमा मात्रै सरकारले १२ डीआईजीको दरबन्दी काटेको थियो । कुनै समय नेपाल प्रहरीमा ४१ सम्म डीआईजी र १६ एआईजीको दरबन्दी कायम गरिएको थियो ।

नयाँ दरबन्दी थपिएसँगै अब प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने छ । थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै भावी आईजी हुने छन् । यसमा प्रमुख दाबेदार महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेल छन् ।थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमै कायम गरिएको जनाइएको छ । यस्तै सीआईबी प्रमुख डीआईजी सहकुलबहादुर थापा र प्रदेश–२ का प्रमुख धिरजप्रताप सिंहलाई पनि भावी आईजीको दाबेदारका रुपमा हेरिएको छ ।