प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम संचालन गर्ने तयारी

काठमाडौँ, कोरोना महामारीको कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नरहेको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीहरुको सक्रियता हुने भएका कारण अब प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम शुरु गरिने भएको छ । उक्त कार्यक्रममार्फत विद्यार्थीलाई टेलिफोनबाटै सिकाइ अघि पढाउने तयारी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा छ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताएका छन ।

धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका तथा मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको छ ।

नेपाल टेलिकमको पाठशाला क्लोज युजर ग्रुप सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको बुढाथोकीको भनाइ छ । शिक्षक र विद्यार्थीले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा १२९ रुपैयाँले एक महिना पुग्ने उनले बताए । विद्यार्थीका लागि सित्तैमा सिम दिइने र तीन महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिने छ ।

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गर्न लागिएको हो ।