प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

धनगढी, भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी पोष्टस्थापना गर्न पहल गरिएको छ ।सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बिओपी स्थापनाको पहल गरीएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुण्टे घाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बिओपी स्थापना गर्न थालिएको हो ।कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल एसएसबीको पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले भने, “प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गर्नसकेमा सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ ।” नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा ५०० जति बिओपी स्थापना गर्ने लक्ष्य राखेको बताईएको छ ।पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको जिकिर प्रहरी उपरीक्षक कुँवरले गरे ।