फिक्कलमा उद्धव उद्यान निर्माण

सिन्धुली, फिक्कल गाउँपालिकामा उद्यान निर्माण भएको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिएकी छन ।

गाउँपालिकाको रु १९ लाख ५० हजार र सङ्घीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो । उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा चौतारा छन् ।गाउँपालिकामा आउने पर्यटकका लागि अवलोकनस्थल पनि निर्माण भएको छ । यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असल काममा लाग्न प्रेरणा मिल्ने उनले बताए ।

विसं २०२८ वैशाख २८ गते जन्मिएका खड्काको २०५८ साल वैशाख ११ गते उपचारका क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो ।तत्कालीन गाविस अध्यक्ष खड्कालाई विकासप्रेमी र दूरदर्शी नेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन् । विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो र बिजुली बत्ती ल्याउने गरेको सङ्कल्प आज पूरा भएको स्थानीयवासीको भनाइ छ ।