मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

बदला लिने दाउमा नेपाल

काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुने भएको छ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा रहेको छ ।पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ । तर, बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउन सहज भने पक्कै पनि छैन ।हेड टु हेडको आंकडा हेर्दा बंगलादेश नेपालमाथि हावी देखिन्छ ।अहिलेसम्म नेपाल र बंगलादेश कूल २० पटक प्रतिस्पर्धा गर्दा १३ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो ।