कोरोनाभाइरस संक्रमणबाट बीपी प्रतिष्ठानमा थप चार जनाको मृत्यु

सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जनाको ज्यान गएको छ । कोरोनाबाट सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक महिला, धनकुटाको सांगुरीगढी भेडेटारका एक वृद्ध पुरुष, झापाका एक वृद्ध पुरुष र झापाकै एक महिलाको निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका संक्रमितमध्ये बराहक्षेत्र नगरपालिका–३ की ४४ वर्षीया महिला मृगौला रोगी थिइन् । उनलाई कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी धनकुटाको साँगुरीगढी–८, भेडेटारका ७२ वर्षीय वृद्धको कोभिड अस्पतालमा मृत्यु पछि कोरोना पोजिटिभ पुष्टि भएको थिया । सहप्रवक्ता डा. श्रेष्ठका अनुसार उनलाई कात्तिक २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दीर्घ रोग नभएकी झापाकी २५ वर्षीया संक्रमित महिलालाई कात्तिक २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । कोरोना पोजिटिभ भएको उनको पीसीआर रिपोर्ट भने २७ गते आएको थियो ।

यस्तै, कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका झापाका ८० वर्षीय वृद्धलाई कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । सहप्रवक्ता डा. श्रेष्ठका अनुसार मृतकहरुको मृतकको शव नियमअनुसार व्यवस्थापन कार्य भइरहेको छ ।