इजिप्ट र सुडानले गरे संयुक्त सैन्य अभ्यास शुरु

कायरो, इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरेको छ । शनिबार उक्त सैन्य अभ्यास घोषना गरीएको हो । नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत देखापरेको छ । गत वर्ष सुडानी राष्ट्रपति ओमार अल–बसिरको सत्ता पतन भएयता पहिलो पटक दुबै मुलुकका कमान्डो सैनिक र लडाकू बिमान सहित संयुक्त सैन्य अभ्यास भइरहेको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडानमाथि लाग्दै आएको आतंकवाद–प्रश्रय मुलुकको सूचीबाट हटाएको एक महिनापछि नै इजिप्ट र सुडानबीच संयुक्त सैन्य अभ्यास भएको हो । अमेरिकी यस कदमपछि सुडानलाई अन्तर्राष्ट्रिय जगतसँग पुनः सम्बन्ध गाँस्न सहज भएको थियो ।अमेरिकी कदमसँगै सुडानले इजरायलसँग पनि सम्बन्ध गाँसेको थियो ।

इजिप्टको सेनाले एक वक्तव्य प्रकाशन गरी “नाइलको इगल–१” नाम दिइएको यस संयुक्त सैन्य अभ्यास सुडानमा भइरहेको र यो आगामी नोभेम्बर २६ सम्म जारी रहने बताएको छ । सैन्य अभ्यासका क्रममा सैन्य कारबाहीसँग सम्बन्धित योजना निर्माण र कारबाहीसँग जोडिएको क्रियाकलापका साथै खोज तथा उद्धार अभियानमा कमान्डो समूहको परिचालन समेटिएको सैन्य वक्तव्यमा उल्लेख छ । इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको सरकारले दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्न पछिल्लो समय विशेष महत्व दिएका छन् । एपी