वामदेवलाई उपप्रधानमन्त्री बन्न ओलीको आग्रह

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा भेटवार्ता भएको छ। आइतबार बिहान बालुवाटारमा करिव एक घण्टाको भेटवार्तामा पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुको मुख्य दोषी ओलीनै भएकाले अरुलाई दोष दिएर ओली उम्कन नपाउने बताएका छन ।

पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्षले सचिवालय बैठकमा ओलीविरुद्ध आरोप लाएपछि नेकपामा हलचल मच्चिएको छ। ओली निकट नेता भने प्रचण्डको प्रस्ताव फिर्ता गराउने पक्षमा छन भने प्रचण्ड पक्षका नेताहरु सामूहिक प्रस्ताव भएको भन्दै फिर्ता नहुने दाबि गर्दै आएका छन्। गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न बालुवाटार बोलाइएको थियो।

पार्टीमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो। ‘उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको भनेर आउनु भएको छ।’ सल्लाहकार सुवेदीले भने ‘ओलीले आफ्नो कार्यशैली सच्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ।’ ओलीले आज पनि गौतमलाई सरकारमा आउन र उपप्रधानमन्त्री बन्न आग्रह गरेका गौतम निकट स्रोतले जनाएको छ। तर गौतमले आफू अहिले सरकारमा नआउने ठाडो जवाफ ओलीलाई दिएका थिए।

ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गरेका थिए। त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली नसच्याए पार्टीमा संकट बढ्ने चेतावनी दिएका थिए।