राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

के भयो कुराकानी ?

काठमाडौं, सत्तारुढ नेकपाभित्र विवाद तीव्र भइरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा छलफल भएको बताइएको छ। तर, के विषयमा छलफल भयो भन्ने खुलेको छैन। 

प्रमुख प्रतिपक्षी दल मात्र सत्तारुढ दलकै कतिपय नेताहरुले नेकपाभित्रको विवादमा राष्ट्रपतिको एक पक्षीय सक्रियता बढेको भन्दै आलोचना गरिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । करिब एक घण्टाअघि भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ ।

नेकपाभित्रको विवाद चराम विन्दुमा पुग्दै अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ‘पत्र युद्ध’ मा आइपुगेको छ । राष्ट्रपति भण्डारीले नेकपाभित्रको विवाद समाधानमा भूमिका निर्वाह गर्न उपाध्यक्ष गौतमलाई गरेको आग्रहको आलोचना भएको थियो ।

पार्टी अध्यक्ष समेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै ओली रुष्ट बनेका छन् । उनी निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् । ओली पनि कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेका छन् । शनिबार मात्रै उनले आफू निकट नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए ।