मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

लामो समयपछि अन्तराष्ट्रिय खेलका लागि मैदान उत्रदा नेपाल र बंगलादेश दुबै टोली जित र हार भन्दा पनि फुटबल फर्किएकोमा खुसी छन् ।नेपाली टिमको लक्ष्य जित नै हुनेछ । तर, बगंगलादेशलाई उसकै मैदानमा हराउन सहज भने छैन । नेपाल र बंगलादेश एकआपसमा परिचित प्रतिस्पर्धी हुन् । हेड टु हेडको आंकडा हेर्दा बंगलादेश नेपालमाथि हावी देखिन्छ । तर पछिल्ला खेलमा नेपाल आक्रामक बन्दै गएको छ ।

अहिलेसम्म नेपाल र बंगलादेश कूल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २(० ले पराजित गरेको थियो ।