मलेसियामा एक नेपाली युवकले गरे सिक्किमकी युवतीको हत्या

काठमाडौं, मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् ।बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए पनि उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

हत्या गरिएकी युवती सिक्किमकी आइतमाया मगर भएको त्यहीं कार्यरत नेपालीले जानकारी दिएका छन् । दर्शन नमस्ते होटल नेपाली व्यवसायीकै हो । मलेसियन प्रहरीले घटनाको मुचुल्का गरेर शव उठाइसकेको छ । घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई आज (बिहीबार) जानकारी गराइने भएको छ ।

हत्यामा संलग्न युवा बुधबार बिहानैदेखि होटलमा रक्सी खाएर बसेको बताइएको छ । छुरा प्रहारपछि होटलका श्रमिकले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । सिक्किम घर भएकी मृतक मगरको नेपाली पासपोर्ट छ । प्रहरीले थप अगाडि बढाएको बताइएको छ ।