गौतमविरुद्धको मुद्दाको आज सुनुवाइ हुदै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च अदालतले जानकारी गराएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएका छन् ।निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगे पनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिट अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटो समेत रोकिएको छ