घुस अभियोगमा इञ्जिनियरसहित दुई पक्राउ

नुवाकोट,नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ ।

घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पुर्‍याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो । अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौँले कारवाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ ।