राप्ती प्राबिधिक शिक्षालयलाई क्याम्पसमा स्थानान्तरण गर्न पाँच राजनीतकदलको सुझाव

भालुवाङ,लुम्विनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती प्राविधिक शिक्षलयमा प्रदेशसभाको हिउँदे अधिबेशन सञ्चालन गर्ने तयारी गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मा अवस्थीत राप्ती प्राबिधिक शिक्षालयमा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन गर्ने तयारी भएसंगै शिक्षालयलाई कहाँ व्यवस्थापन गर्ने बिषय पछिल्लो समय निकै चोटिलो बनेको छ ।

यसैबीच राप्ती गाउँपालिका क्षेत्र भित्रका पाँच रानीतिकदलहरुको बिहिवार बसेको बैठकले राप्ती प्राबिधिक शिक्षालयलाई व्यवस्थापन गर्न राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थीत आदर्श नमुना मावि लालमटिया र ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका भवनहरु पठनपाठनका लागि प्रयाप्त रहेकोले उक्त विद्यालय तथा क्याम्पसमा तत्कालका लागि शिक्षालयलाई व्यवस्थापन गर्न सुझाब दिने निणर्य भएको बैठकपछि जनता समाजवादी पार्टी नेपालकाका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षतामा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा सम्पन्न बैठकले राप्ती प्राविधिक शिक्षालयको स्थायी संरचना राप्ती गाउँपालिका क्षेत्रभित्र रहेको करिव १ हजार ७ सय विगाह खाली जग्गा प्राविधिक दृष्टिकोणले छनौट गरी निर्माण गर्ने सुझाब दिएको छ । साथै बैठकले पाँच राजनितीक दलको निर्णयलाई दाङका प्रमुख जिल्ला अधिकारी जयराज आचार्यलाई बुझाउने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल र राप्रपाका राप्ती गाउँपालिका अध्यक्ष टेकबहादुर गिरी लगायतको सहभागिता रहेको थियो ।

केहीदिन अघि गढवाको गोबरडिहामा भएको गढवा गाउँपालिका स्तरिय सर्बदलीय सर्बपक्षीय भेलाले राप्ती प्राबिधिक शिक्षालय गोबरडिहा स्थित सरस्वती माबिको जग्गामा स्थानान्तरण गर्ने एकतर्फी निर्णय गरेको थियो । राप्ती प्राबिधिक शिक्षालयलाई आबशयक पर्ने जग्गा सरस्वती मावि गोबरडिहाले उपलब्ध गराउने र सो बिद्यालयको इतिहास र अस्तित्व कायम रहने गरी गढवा गाउँपालिकाले प्राबिधिक शिक्षालयका लागि आबश्यक ब्यवस्थापन गर्ने गरी निर्णय गरेको थियो । हाल सरस्वती माबि गोबरडिहाको ६५ कोठाको भवन मध्ये कृषि प्राबिधिक धारको ल्याब सहित ३४ कोठा प्रयोगमा आएको र ३१ कक्षाकोठाहरु खाली नै रहेको बिद्यालयले जनाएको छ ।

यता लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा हिउँदे अधिबेशन सञ्चालन गर्न लुम्बिनी प्रदेशका कानून मन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्ती सहितको एक उच्च स्तरीय टोलीले राप्ती प्राविधिक शिक्षालयमा एक औपचारिक कार्यक्रम राखी स्थलगत अध्ययन अनुगमन गरेको थियो ।