कर्णालीमा १५ सयले गरे सशुल्क कोरोना परीक्षण

कर्णाली,  कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरे पनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु. दुई हजार तिरेर एक हजार ५३२ जनाले पिसिआर परीक्षण गरेको पाइएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पिसिआर परीक्षण गरेका छन् । सशुल्क परीक्षण गरेपनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् ।

प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा. नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताउनुभयो । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ ।

कर्णालीमा प्रदेश अस्पताल–पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परीक्षण हुँदै आएको छ ।