फ्रान्समा चक्कु हानी ३ जनाको हत्या गर्ने व्यक्ति ट्युनिसियाका २१ वर्षीय युवक

पेरिस, फ्रान्सको निस सहरको एउटा चर्चमा चक्कु प्रहार गरी ३ जनाको हत्या गर्ने व्यक्ति केही दिनअघि ट्युनिसियाबाट आएको खुलेको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ती आक्रमणकारी २१ वर्षीय ब्राहिम एइसोई हुन् । उनी सेप्टेम्बरमा डुङ्गाबाट इटालीको ल्याम्पेडुसा टापुमा आइपुगेका थिए । कोरोना महामारीका कारण उनलाई १४ दिनको क्वारेन्टाइन बसाइपछि इटालीले आफ्नो भूमि छोड्न आदेश दिएको थियो । इटालीबाट अक्टोबर महिनाको सुरुवातमा ती व्यक्ति फ्रान्स आइपुगेको घटनाको अनुसन्धान गरिरहेका अधिकृतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

आक्रमणपछि फ्रेन्च प्रहरीले एइसोइलाई गोली हानी हिरासतमा लिएको थियो । गोली लागी गम्भीर घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका बेला उनीसँग परिचय खुल्ने कुनै कागजपत्र नभएको तर इटाली रेडक्रसले बनाइदिएको कागजमा भने उनको नाम खुलेको अधिकारीले बताएका छन् । उनले फ्रान्समा राजनैतिक शरणका लागि कुनै आवेदन नदिएको पनि अधिकारीले जानकारी दिएका छन् ।

बिहीबार निस सहरको एक चर्चमा चक्कु आक्रमण गरी दुई महिला र एक पुरुषको हत्या भएको थियो । अधिकारीका अनुसार ६० वर्षीया महिलाको ‘शिर काटिएको’ थियो । त्यस्तै ५५ वर्षीय पुरुषको घाँटी काटिएको थियो । पटक–पटक चक्कु आक्रमणपछि पनि भाग्न सफल ४४ वर्षीया अर्की महिलाको पनि पछि मृत्यु भएको फ्रान्सेली अधिकारीले जनाएका छन् ।

आक्रमणकारीको साथबाट एउटा कुरान, दुइटा टेलिफोन र एउटा चक्कु बरामद गरिएको बताइएको छ । त्यस्तै एउटा झोलामा आक्रमणमा प्रयोग नगरिएका दुई वटा चक्कु पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले आक्रमणलाई ‘इस्लामी आतंकवादी हमला’ को संज्ञा दिएका छन् । उनले कुनै पनि हालतमा फ्रान्सले आफ्नो मूल्य मान्यता समर्पण नगर्ने पनि बताएका छन् ।