काश्मिरमा भाजपाका तीनजना नेताको गोली हानी हत्या

काठमाडौं, भारतको जम्मू काश्मिरमा तीन जना भारतीय जनता पार्टीका नेताको हत्या भएको छ। दक्षिणी काश्मीरको कुलगाममा गएराति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको हो।मृतक हुसैन कुलगाम भाजपा युवा मोर्चाका महासचिव रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनीसँगै भाजपाका कार्यकर्ता उमर रशीद बेग र अब्देर रशीद बेगको पनि हत्या भएको हो। गोली लागेर एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ।

द रजिस्टेन्स फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ। उक्त संगठन लक्सर ए तैयबाको सहयोगी भएको जनाइएको छ।

जम्मु काश्मीरमा विगत केही दिनयता भाजपा कार्यकर्तामाथि लगातार आक्रमण भइरहेका छन्। पार्टीका तीन युवा कार्यकर्ताको हत्या भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन्।