हिरासतको बुहार्तन

कविता

उनिहरु भन्थे , यहाँ ढुङ्गा बोल्छ
अगाडि, पछाडि र भित्ता हरुमा
यहि लेखिएको थियो,पोतिएको थियो
यहाँ ढुङ्गा बोल्छ….!
भन्थे तिम्रो बिचार,बिद्रोह र क्रान्ति
नेल लागे दोब्रिन्छ,जेलहाले सिद्धिन्छ
शिष्ट, सभ्य र शालिन शब्दहरु ले
म प्रतिबाद गरिरहन्थें, प्रतिरोध गरिरहन्थें
ड्युटी फेरिन्थ्यो, मान्छे फेरिन्थे
भाषा, शैळि र व्यवहार फेरिन्थ्यो
तर भाब , लक्ष्य र उद्धेश्य उहीँ
तर्साउने , फकाउने र आतंकित गर्ने
पर्लोभन र आश्वासनले सेलेण्डर गराउने
कहिले आँखामा पट्टि बाँधिन्थे
कहिले चौखुर्याएर लडाउंथे
कहिले निस्पट्ट रातका समयहरुमा
जंगल लगिन्थे र मार्ने भनिन्थे
मानौं उनिहरु यमदुतहरु हुन् 
रोउं, कराउ र जीबनको भिख मागौं
जनता, राष्ट्र र श्रमजिबिहरु लाई
आत्मसमर्पण गरौं, धोका दिउं र निरास पारौं
शत्तासिन महल प्रवेश गरौं र क्रान्ति छोडौं
जतिनै बुहार्तन ब्यहोर्नु परेपनि
महान इच्छुक र वहांका सृजनाहरु
सकेजति ठुला र उच्च श्वरहरुले
भनिरहन्थें , फलाकिरहन्थें
कफन बाधेंको एउटा योद्धा म
गर्भले छाति फुलाएर प्रतिरोध गरिरहन्थें
कुमार, नीरकुमारको गर्बिलो मृत्यु
स्वीकार्य छ, गद्दारि गर्दीन भन्थें
रक्सिले रन्थनिएका कुलङ्गारहरु
एकोहोरो लाठि, लात्ती र बुट बजार्थे
यातनाले शिथिल रुग्ण शरिर
लछार्दै फिर्काएर कालकोठेरि भित्र
चौखुर्याउथे र लढाइदिन्थे
अत्यचारले सिमा नाघेकाबेला
षड्यन्त्रमा परेर सत्ताशिनहरुका
हिरासद भित्र छिराएका बेला ।।

१३ भदौ ० ७७ झापा जेठ