कर्मचारीमा कोरोना देखिएपछि राप्ती गाउँपालिका कार्यालयसँगै १ र ३ नम्बर वडा कार्यालय सिल

भालुवाङ , कर्मचारीमा कोरोना देखिएपछि देउखुरीको राप्ती गाउँपालिकाको कार्यालय सँगै १ र ३ नम्बर वडा कार्यालय ४ दिनका लागि सिल गरिएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आज एक सूचना जारी गर्दै बुधबार देखि कात्तिक १६ गतेसम्म ३ वटा कार्यालय सिल गरिएको जानकारी दिएका छन् ।

गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रमा कार्यरत एक पुरुष कर्मचारीमा कोरोना देखिएपछि अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा आएका अन्य कर्मचारीमा पनि कोरोना हुन सक्ने र त्यसबाट सेवाग्राहीमा समेत संक्रमण फैलन सक्ने भएकाले गाउँपालिका अन्तरगत संकट ब्यवस्थापन समितिले ४ दिनकालागि कार्यालय सिल गर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए ।

साथै अत्यावश्यक काम परे वडाध्यक्ष, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशाकीय अधिकृतलाई सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ । सूचनामा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।