च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित

एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित निकालेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले दुबै गोल गरेको थियो ।

खेलको ५५औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।जितसँगै लिभरपुलले समूह ‘डी’ मा २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई १-० ले पराजित गरेको थियो ।