बीस वर्षपछि घरघरमा धारा

बागलुङ, बडिगाड गाउँपालिका–१० पात्लेकी मीना विकलाई हरेक दिन खानेपानीकै सास्ती थियो । बिहानै उठेर खोल्सामा पानी खेप्न जाँदा दुई घण्टा लाग्थ्यो । गाईबस्तुलाई पानी पुर्‍याउन उस्तै मुस्किल । घरको सरसफाइ र खानकै लागि दैनिक १० गाग्री खेप्नुपर्ने भएपछि एक जनाको कामै त्यही हुन्थ्यो ।यो समस्या २०५५ देखिकै हो । पात्लेकै सावित्रा रासकोटीले पानीको दुःखले बालबालिका पढाउनसमेत नसकेको गुनासो गरिन् । यहाँबाट नजिकको विद्यालय पुग्न डेढ घण्टा लाग्थ्यो । पानीका लागि समय खर्चनुपरेकैले कतिपय बालबालिका पढ्न जाँदैनथले । २०७० सालमा खुला दिसामुक्त गाउँ घोषणा गर्दा यहाँका अधिकांश शौचालय प्रयोगविहीन थिए । ‘पानीको अभावले शौचालय पनि प्रयोग गर्न सकेका थिएनौं,’ विकले भनिन्, ‘अहिले घरमै धारा आएको छ, धेरै सुख पाइने भयो ।’ घाँसदाउरा र घरको कामले भन्दा पानीको पिरले धेरै दुःख भोगेको उनले बताइन् ।

नजिकै पानीको अरू स्रोत नहुँदा स्थानीय बासिन्दा कुवाको पानी खान्थे । पात्ले झाँक्रीस्थान खानेपानी उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले कुवा हिलो भएकाले पानी छानेर खान बाध्य भएको सुनाए । ‘हामी अहिलेसम्म कुवाको फोहोर पानी छानेर खान्थ्यौं,’ उनले भने, ‘अहिले घरघरमा सफा पानी खान पाएका छौं ।’ यो पानी ल्याउन पात्लेका स्थानीयले दर्जनौं संस्थामा धाए । कतैबाट साथ नपाएर हार खाएका बेला सहयोग गर्ने संस्था पाएपछि गाउँमा पानी ल्याउन सकिएको उनले बताए ।

२०५७ सालमा उनीहरूले ब्रिटिस वेयलफेयर गुहारेका थिए । खानेपानी आयोजनाको काम थाल्नै लाग्दा तत्कालीन माओवादीले ५० प्रतिशत चन्दा मागेपछि आयोजना नै बन्द भएको वडाध्यक्ष वीरेन्द्र बुढाले बताए । उक्त आयोजना बनाउन त्यसपछि स्थानीयले २० वर्ष संघर्ष गर्नुपर्‍यो । ‘ठूलो खर्च लाग्ने आयोजना भएकाले कतैबाट सम्भव भएन, आएको योजना फिर्ता भयो,’ बुढाले भने, ‘अहिले योजनालाई तीन भागमा बाँडेर निर्माण सम्पन्न भयो ।’ तत्कालीन जिविस, खानेपानी तथा सरसफाइ डिभिजन र अन्य धेरै गैरसरकारी संस्थाले पनि प्रारम्भिक सर्भे गरेपछि काम छाडेर जान्थे । कुनै संस्था लागत बढी भएको र कोही विवाद रहेको भन्दै तर्कने गरेको रासकोटीले बताए ।

ठूलो लगानी गर्नुपर्ने भएपछि कसैले पनि हात हाल्न नसकेको यो योजनामा नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० ले काम गरेको हो । संस्थाले यहाँका ४१ घरमा खानेपानी पुर्‍याएको बुढाले बताए । ४१ मध्ये २१ घरमा अहिले धारा जडान भएको छ । बाँकी २० घरमा निर्माणाधीन छ । तीमध्ये ६ घरलाई १ सय ५१ मिटर उचाइमा लिफ्ट गरेको पानी खुवाइएको नेवाका क्षेत्रीय प्रबन्धक कुमार सिलवालले बताए । यो आयोजनाबाट ३ सय १ जनाले पानी खान पाएका छन् ।

आयोजनाका लागि निगालपानी भन्ने स्थानबाट ११ हजार ८ सय मिटर लामो पाइपलाइन बिच्छ्याएर पानी ल्याइएको हो । ३९ लाख ७८ हजार रुपैयाँ लागतमा आयोजना बनेपछि स्थानीयले खुसी छन् । ‘अझै यहाँको केही बस्तीमा खानेपानी पुर्‍याउन बाँकी छ’ बुढाले भने, ‘अर्को वर्षसम्म सबै गाउँमा खुसियाली ल्याउने गरी काम गर्दै छौं ।’

आयोजनाका लागि उपभोक्ताले पाइपलाइन खन्ने काममा श्रमदान गरेका थिए । यो आयोजनामा ४ हजार लिटरको रिजर्भ ट्यांकी र २ हजार र १ हजारका अन्य ५ वटा वितरण ट्यांकी बनाइएको छ । पाँचवटा सोलार प्यानल र १ दशमलव ५ हर्सपावरको मोटरसमेत जडान गरिएको हो ।कान्तिपुर