यस वर्षको दशैमा थारु गाउँ सुनसान, कतै भएनन् स्टेज कार्यक्रम

 भालुवाङ, दाङ सहित थारु बाहुल्यता भएको जिल्लामा हुने रात्रीकालिन स्टेज कार्यक्रम तथा झुमरा, सखिया नाच यस वर्ष हुन सकेको छैन् । कोरोना सङ्क्रमणका कारण सरकारले सामूहिक भेला र भिडभाड तथा मनोरञ्जनका कार्यक्रममा रोक लगाएपछि थारु समुदायले आफ्नो कला संस्कृति संरक्षणका लागि दशैमा गर्दै आएको स्टेज कार्यक्रम तथा झुमरा नाच हुन सकेको छैन ।

थारु समुदायमा नवमीका दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ । थारु समुदायमा दसैं आउनुभन्दा एक महिना अगाडि देखि सखिया र झुमरा नाच नाच्ने गरिन्थ्यो तर यसपालि कोभिड –१९ का कारण कुनै पनि नाच हुन सकेका छैनन् । झुमरा नाच र दसैं विशेष विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएन, गाउँघर सुनसाननै छ । नवमीको दिन बिहानै कुल देवता भेडा वा कुपिण्डोबाट बनाएको भेंडा र लोकल भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर, पिण्ड दिने चलन छ । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन् ।

नवमीका दिन थारु युवकयुवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन् । थारु अगुवाहरुको भनाई अनुसार “परम्परागत चाड दसैंमा अरु समुदाय भन्दा थारु समुदायको फरक हुन्थ्यो । यो नाचले दसैंको रौनकलाई अझ बढाउँथ्यो ।” प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दसैंको गरिमालाई समेत बढाएको हुन्छ । “यसपालिको दसैंमा कोभिड –१९ को महामारीका कारण पूरै गाउँ नै सुनसान छ । घटस्थापनाका दिन देखि थारु बस्तीमा झनै रमाइलो हुन्थ्यो । थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो हुन्थ्यो ।” उनीहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् ।

थारु समुदायमा कृष्णाष्टमी देखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दसैंमा गाउने गरिन्छ । सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसंँगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दसैंमा दाङका थारु बस्तीमा मादल पनि बजेनन्, नाचगान पनि भएन र गाउँघर सुनसान भएको छ ।