सामुदायिक वनमा काटेर लुकाइएको काठ बरामद

ताप्लेजुङ, पाँचथरस्थित सशस्त्र प्रहरी बल हिमशिखर गुल्मको टोलीले सामुदायिक वनमा लुकाइराखिएको काठ बरामद गरेको छ ।पाँचथरको मकैबारी डुड सामुदायिक वनबाट सशस्त्र प्रहरीले बरामद गरेको काठ । तस्बिर सौजन्य स् सशस्त्र प्रहरी बल हिमशिखर गुल्म ।
राँके चेकपोस्टबाट खटिएको टोलीले ३० लाख ७७ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिका–१३ स्थित मकैबारी ठूलोडुड सामुदायिक वन क्षेत्रबाट १ हजार ७ सय ९ क्युबिक फिट काठ बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपाने नेतृत्वको १० जनाको टोलीले काठ बरामद गरेको हो । चिरान गरेर वनमा राखिएको काठ कसले काटेको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ डिभिजन वन कार्यालय पाँचथरमा बुझाइएको श्रेष्ठले बताए ।