गाउँमा छैन यसपालि दशैँको रौनक

कास्की, पर्वतको मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन्।घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै गाउँ पुगेकी हुन्थिन्। तर, यसपटकको दशैँमा भने उनी गाउँ गइनन्।कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैँ मनाउँदै छिन्। ‘चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोना सङ्क्रमणको त्रासले यस पटक घर जान पाइएन’, उनले भनिन्, ‘बजारमा सङ्क्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने तथा आफ्ना कारणबाट अरुले दुःख नपाऊन् भनेर सरकारको आग्रह मानेर पोखरामै दशैँ मनाउने निर्णय गरेको हुँ।‘

विगत वर्षमा दशैँ शुरु भएलगत्तै शहरबाट गाउँघर फर्किने क्रम शुरु हुन्थ्यो। शहरमा रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु दशैँमा गाउँ फर्किंदा शहर सुनसान हुन्थ्यो। गाउँमा चहलपहल बढ्ने गर्दथ्यो। विदेशमा भएका समेत वर्ष दिनमा एक पटक घर फर्केर दशैँ मनाउने चलन थियो।

गाउँघरमा घट्स्थापनादेखि नै चहलपहल हुने गरे पनि यस वर्ष भने गाउँमा दशैँको खासै रौनक छैन। कोरोना महामारीका कारण सरकारले जारी गरेको चाडपर्व मनाउने मापदण्डका कारण जो कोही पनि घरभित्रै सीमित भएका छन्।

शहरबाट गाउँ फर्किने थोरै मात्र छन् भने गाउँमा समेत कोभिड १९ को त्रास कायम रहेकाले अत्यावश्यकबाहेक घरबाहिर निस्कने कमै छन्। चियापसल र चौतारी सुनसान छन्। दशैँलाई लक्ष्य गरी आयोजना गरिने महोत्सव र खेलकुद प्रतियोगितालगायत यस वर्ष आयोजना भएनन्।

पिङ तथा दशैँका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको रौनक नभएको माछापुच्छ्रे गाउँपालिका ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए।

‘सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दशैँमा गाउँघरमा समेत चहलपहल छैन, बजारबाट गाउँ आएका सर्वसाधारणसमेत घरभित्रै सीमित छन्’, वडाध्यक्ष लम्सालले भने, ‘यसपटक गाउँमा पिङ पनि हालिएका छैनन्, चहलपहल पहिला जस्तो छैन, हामीले आग्रह गरे अनुसार नै भएको छ।‘

विगतमा गाउँका टोलैपिच्छे खुला स्थान र चौतारीमा हालिने रोटेपिङ र लठ्ठे पिङमा बालबालिकादेखी वृद्धवृद्धासम्मको चहलपहल हुन्थ्यो। पिङ खेल्नका लागि लामो समय बालबालिका पालो पर्खिएर बसेका हुन्थे। यस वर्ष त्यस्तो दृश्य कतै देखिँदैन।

सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्ष दशैँमा गाउँ जानेहरु कम भएका हुन्। कोरोना सङ्क्रमणको त्रास सर्वत्र छ। गाडीमा हिँड्नसमेत यात्रु डराएका छन्।