केपी ओलीको कथित राष्ट्रवाद

पछिल्ला दिनहरूमा जसरी भारतीय खुफिया संस्था रअका प्रमुख सामन्त गोयल नेपाल आए र फर्के, त्यसरी नै केपीको राष्ट्रवादले पानी खायो वा थप उनको तथाकथित राष्ट्रवाद उदाङ्गीयो । फलतः ऊनी नेपालको लि-लि-का सहितको चुच्चे नक्शा हटाएर आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट नेपालको बुच्चे नक्शा सार्वजनिक गरेबाट नै थाहा हुन्छ कि ऊनी आफ्नो मालिकप्रति कति बफादार छन् । गोयल र प्रम ओली बीचको भेट जसरी भयो त्यो सामान्य कुटनैतिक मर्यादा विपरीत थियो । उक्त भेटले थुप्रै आशङ्का गर्ने थप स्थान तब दियो जब नेपालको बुच्चे नक्सा प्रमबाट नै सार्वजनिक गरियो । भलै पब्लिक प्रेसरका कारण उनका गोयबल्सहरू बर्बराउन थाले र भन्न थाले कि, “नक्शा सानो भएर नदेखिएको हो”; “फेक अकाउन्टबाट बदनाम गर्न खोजियो” यस्तै यस्तै । अटेरी वलीले अन्ततः बुच्चे नक्शा हटाएर चुच्चे नक्शा राख्न बाध्य भए । यो सामान्य ‘क्लु’ हो उनको तथाकथित राष्ट्रवादको ।

महाकाली सन्धिको सन्दर्भमा काङ्ग्रेस-एमालेको अपार ठूलो राष्ट्रघातमा केपी ओलीको वाचाल उधारो गफ र उक्त राष्ट्रघातमा उनको भुमिकाबारे जगत जानकार छ नै । थप गिजोल्नु आवश्यक छैन । यसबारे तत्कालीन समयमा महाकाली मुद्दालाई लिएर पार्टी फुटाउने नेकपा (माले)का नेताहरूले एमाले र केपी ओली किन राष्ट्रघाती भनेर लेखिएको पुस्तक लेखिएको तथ्य यहाँ थप प्रासंगिक हुन्छ होला । भलै किताब लेख्नेहरू अहिलेको सरकारी नेकपाका हर्ताकर्ता नै छन् । यही देशघाती महाकाली सन्धिका कारण लिम्पियाधुरा-लिपुलेक-कालापानीमा भारतीय सत्ताको रजगज जारी छ । जसका कारण विश्वका साना २० वटा मुलुक भन्दा ठुलो भुभाग नेपालले गुमाउने खतरा छ ।

लिम्पियाधुरा-कालापानी-लिपुलेकको कुल ३७२ वर्ग किलोमीटरको भुभागलाई भारतीय साम्राज्यवादी दक्षिणपन्थी सत्ताले कब्जा गरेको र उक्त भुभाग हुँदै चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपालमा देशभक्त युवाहरूले विभिन्न स्वरुपमा कोरोनाको महामारी बीचपनि आन्दोलन गरे तर दलाल केपि सरकारले आफ्नो मालिकको इशारामा देशभक्त युवाहरूलाई लाठीबुट बर्सायो । बन्दुक दाग्यो । नेल ठोक्यो र जेल कोच्यो । भने अर्कोतिर जनतालाई भोकै राखेर मेडिकल सामानमा भ्रष्टाचारमा लिप्त भयो ।

एमसिसी विरुद्ध अभियान थाल्ने अभियन्ता विरुद्ध त केपीले नाभिदेखिको बल लगाइरहेका छन् । देशभक्त युवाहरूलाई लाठी बर्साएका छन् । साथीहरूले अझै पनि टाउकोमा गहिरो चोट बोकेर हिंड्नु परेको छ ।

राष्ट्रघातको थप नमुना त त्यतिबेला देखियो जब देशभक्त, राष्ट्रवादी, प्रगतिशील र सच्चा क्रान्तिकारीहरूको पार्टीलाई ऊनीहरूको आम किसान, मजदुर, देशभक्त तथा कम्युनिस्ट वृत्तमा लोकप्रियता देखेर केपी-बादलको गिरोहले सत्ताको आडमा आफैंले लेखेको संविधानलाई घोक्रेठ्याक लगाएर प्रतिबन्ध लाद्ने कुकाम गर्यो । फाँसीवादी हर्कत देखायो । प्रतिबन्धको यो शृङ्खला भने नेपालमा नौलो होइन । नेपालको इतिहासमा देशभक्त तथा क्रान्तिकारी पार्टीलाई आफ्नो सत्ता जोगाउन राणा र राजाले पनि प्रतिबन्ध लगाएका थिए र जनताले यसलाई चिरिदिएका पनि थिए । देशभक्त, राष्ट्रवादी र सच्चा कम्युनिस्टलाई दमन गर्ने र स्वेतआतङ्क मच्च्याउने काम राष्ट्रवादी र देशभक्तले गर्दैन । यो सच्चाईलाई हामीले बुझ्नु जरुरी छ । एनसेलबाट कमिसन खाएर विदेशी मालिकको इशारामा दमन र हत्याको शृङ्खला चलाउने केपीलाई र यो सत्तालाई राष्ट्रवादी देख्नु र बाँदरलाई मान्छे भन्नू उस्तै हो ।

०७२ सालमा नेपालमा भुकम्प गयो । यो नेपालीहरूका निम्ति पिडादायी क्षण थियो । लगत्तै संविधान जारी भयो । थप त्यसमा मोदीले नेपालमा नाकाबन्दी लाद्ने काम गर्यो । नाकाबन्दी गर्दा तत्कालीन प्रम सुशील कोइराला थिए भने नाकबन्दीको बीचमा केपी प्रम बनाइए । मोदीको नाकाबन्दी विरुद्ध केपीको तथाकथित राष्ट्रवादी कुरुप अनुहार देखिनुमा प्रष्ट दुई कारण थिए । पहिलोमा उनको भारतीय काङ्ग्रेस आई र पश्चिमासँगको मालिक-दास सम्बन्ध र दोस्रो आउँदै गरेको चुनाव । मोदी चाहन्थे नेपालको संविधानमा हिन्दु राष्ट्र कायम होस् र हिन्दुत्वको खास प्रयोग नेपालमा होस् । तर युरोपियन-अमेरिकन र काङ्ग्रेस आई यसो हुनदिने स्थितिमा थिएनन् । किनभने उनीहरू चाहन्नथे कि नेपालमा इसाईकरणको गति रोकियोस् र आफ्नो उपस्थिति कमजोर होस् । जसका कारण केपी अघि सारिए मोदी विरुद्ध । यसकारण उनी पश्चिमा र काङ्ग्रेस आइका एक वफादार प्यादा हुन् ।

भारतमा जसरी चुनाव नजिकिदै जान्छ मोदी पाकिस्तान र चीनसँग सिमामा विवाद खडा गर्ने गर्दछन् । र राष्ट्रवादको कार्डमा चुनाव जित्छन् । ठिक यसै गरि नजिकिदै गरेको चुनावलाई लक्षित गरेर केपिले तथाकथित राष्ट्रवादको कार्ड खेले र सोझा जनतालाई र कार्यकर्तालाई महँगो भ्रम बाँडे । यो सबै योजनाबद्द थियो । तर अहिले कम्तीमा वलीको राष्ट्रवादी मुकुन्डो च्यात्तिएको छ ।

नेपालमा भ्रष्टाचार र कमिसनको काण्डले आकाश छोएको छ । ओम्नी काण्ड, बालुवाटार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड, ७० करोड टेप रेकर्ड काण्ड, एनसेलसँग लिएको कमिसन काण्ड, नेपाल टेलिकमको १२ अर्ब काण्ड, गोकर्ण रिसोर्ट काण्ड, मेडिकल किट्सको काण्ड र अरु तपाइँहरू थप्दै जानुस् । यी सबै भ्रष्टाचारमा केपीको गिरोह जोडिएको छ । यो छर्लङ्ग छ । लाटाले नि बुझ्छ यो कुरा । कमिसनमा मुछिएकाहरूका लागि त केपी संरक्षक हुन् । अख्तियार अनुसन्धान आयोगमा आफ्नो मान्छे भर्ती गरेर आफ्ना गिरोहका सदस्यहरूलाई सुनपानी छर्केर चोख्याउने काम प्रम ओलीले गरीरहेका छन् । र यस्ता भ्रष्टाचार र कमिसनका खेल विरुद्ध बोल्नेलाई दमन गर्छन् । भ्रष्टाचार र कमिसनको आहलमा डुबेर प्रम अझ के भन्छन् भने भ्रष्टाचारीको मुखै हेर्दिन । हामी भन्छौं प्रम वलीले ऐनामा आफ्नो भ्रष्ट अनुहार हेरुन् । पैसा खाएर देश विरुद्ध गद्दार गर्ने, विभिन्न खरिदमा कमिसन खाने र भ्रष्टाचार गर्ने मान्छे र यी कर्तुत विरुद्ध बोल्नेलाई जेल कोचेर राज्यआतंक मच्चाउने कहिलै राष्ट्रवादी र देशभक्त हुनसक्दैन ।

कोरोनाको कहरमा जनता एकछाक मात्र खाएर बाँच्न विवश छ । उपचार नपाएर मर्नु परेको छ । उपचार नपाएर मृत्युलाई कुरिरहनु परेको छ । तर सरकार भ्रष्टाचारमा मस्त छ । सरकार संविधानमा उल्लेख गरिएको स्वास्थ्य उपचारको दायित्वबाट उम्किन्छ । मेडिकल माफियाहरूलाई पोस्न जनतालाई कोरोनाको उपचार खर्च आफैं गर्ने फर्मान जारी गर्छ र महँगो मुल्य तिर्न बाध्य बनाउँछ । यस्तो जनता विरोधी निर्णय विरुद्ध २१ दलिय गठबन्धनको कार्यक्रमबाट राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सचिव नरबहादुर कार्कीलाई राज्यले पक्राउ गर्छ । यस पक्राउले मेडिकल माफिया विरुद्ध बोल्ने जोकोहीलाई पनि डन्डा चलाउने संकेत गर्छ किनभने नेपालका ठुला र महँगा अस्पतालमा केपी-प्रचण्ड- शेर लगायतको लगानी रहेको छ । यस अर्थमा केपि स्वयंम् एक मेडिकल माफिया हुन् ।

नेपालको छातिमा अमेरिकी सेना परेड खेलाउने, नेपालको जलसम्पदा विदेशीको हातमा सुम्पने जस्तो राष्ट्रघाती एमसिसिलाई संसदबाट पारित गराउन देखिएको केपिको जोडबल हेरिनसक्नु छ । एमसिसी विरुद्ध अभियान थाल्ने अभियन्ता विरुद्ध त केपीले नाभिदेखिको बल लगाइरहेका छन् । देशभक्त युवाहरूलाई लाठी बर्साएका छन् । साथीहरूले अझै पनि टाउकोमा गहिरो चोट बोकेर हिंड्नु परेको छ ।

माथिका विभिन्न घटना र तथ्यहरूले स्पष्ट पार्छ कि केपी ओली राष्ट्रघाती हुन् । झापा काण्डबाट उदायका केपि शर्मा ओलीबारे विभिन्न काण्डहरूको लस्कर हुँदै अहिलेको चुच्चे नक्शाको काण्डसम्म आइपुग्दा र तथ्यहरूको आधारमा सत्यसम्म पुग्दा के निश्कर्ष निक्लन्छ भने ऊनी सामाजिक फाँसीवादी हुन् । उनी गद्दार हुन् । कथित राष्ट्रवादी हुन् । यसमा शङ्का गर्न कुनै आधार छैन । के उनी राष्ट्रवादी हुन् भन्नेमा केही आधार छ र !? कतिपय वा उनका वरिपरिका गोयबल्सहरूले बाहेक राष्ट्रवादी हुन् भन्ने कोहि छ र !? मलाई लाग्छ उनको विगतका देश विरुद्धका कर्तुत र पछिल्लो घटनाको शृङ्खलाहरूलाई जोडजाम गरेर सरल ढङ्गले हेर्दा पनि थाहा लाग्छ, कि उनी कुन हदसम्मको ‘मुर्दावाद’ भन्न लायक अ’मानिस हुन् ।