कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव असफल

सुर्खेत,  कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावलाई अस्वीकार गरेको छ । शुक्रबार बसेको बैठकले अविश्वासको प्रस्तावलाई दलका बहुमत सदस्यले खारेज गरेका हुन् ।

बैठकमा उपस्थित १८ जना सांसदले शाहीको पक्षमा १८ जना सांसदले मत दिएका थिए भने विपक्षमा शून्य मत परेको थियो । संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका यामलाल कँडेल पक्षका सांसदहरु अनुस्थित थिए ।

यसअघि २५ असोजमा कर्णाली प्रदेशका नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । कँडेलको नेतृत्वमा पूर्व एमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसदले हस्ताक्षर गरेपछि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

तर, त्यसपछि शाही पक्षधर पूर्वमाओवादीका सांसद र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरुबीच सहमति भएपछि ओली पक्षधर एक्लिएका थिए ।मुख्यमन्त्री शाहीको पक्षमा बहुमत जुटेसँगै उनको मुख्यमन्त्रीको कुर्सी जोगिएको छ । अब सहमतिअनुसार उनले माधवकुमार नेपाल पक्ष र पूर्व माओवादी पक्षीय नेताहरुलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्नेछन् ।

उनले यसअघि नै प्रमुख सचेतकमा गुलाबजंग शाहलाई हटाएर सीता नेपालीलाई ल्याइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शाहलाई प्रमुख सचेतकमा कायम राख्न मुख्यमन्त्री शाहीलाई निर्देशन दिएका थिए । तर, शाहीले ओलीको निर्देशन अस्वीकार गर्दै नेपालीलाई प्रमुख सचेतकमा कायम राखेका छन् ।