टुँडिखेलमा नेपाली सेनाको सांकेतिक फूलपाती

काठमाडौं, नेपाली सेनाले आज (शुक्रबार) सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुुने कार्यक्रम छ । कोरोना भाइरस महामारीका कारण यो वर्षको सेनाको फूलपाती बढाइँ सांकेतिक मात्र हुने बताइएको छ ।

नेपाली सेनाले हरेक बर्ष आयोजना गर्दै आएको फूलपाती बढाइँ संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र यस वर्षको बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले करिब आधा घण्टाको हुनेछ भने कार्यक्रममा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ । फूलपाती बढाईमा पाहुनाको संख्या कटौती गरी सय जनामा सीमित गरिएको छ ।  विगतमा सेना बाहेक एक हजार २०० को संख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको संख्या १०० जनामा सीमित तुल्याइने छ ।

अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताए । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।