काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘सुविधाको आकर्षणले भन्दा सेवाको भावले स्वास्थ्यकर्मी खटिरहेका छन् ।’

दिनहूँ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसरी खटिँदा आफै संक्रमित भएकामध्ये करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी निको भइसकेका छन्

सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौँ उपत्यकामा दुई महिनायता दिनहुँ करिब ४० जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

हालसम्म संक्रमणमा परेका ५ हजार स्वास्थ्यकर्मीमध्ये करिब २ हजार जति चिकित्सक रहेका छन् । ‘न सरकार, न पैसाका लागि खटिरहेका छन्, विशुद्ध पेसागत धर्म निर्वाह गर्न ज्यान दाउमा लगाउँदै हप्तौँसम्म परिवारलाई नभेटी बिरामीको उपचार गरिरहेका छन्,’ संघका डा. लोचन कार्की भन्छन् ।